थानीय तहहरुले अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरिरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । अहिले नेपालमा स्थापना भएका प्रयोगशालाको क्षमताले नेपालका लागि पुग्ने भएकाले थप पीसीआर मेसिनहरु आवश्यक नभएको सरोकारवालाहरुले बताएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्धारा कोभिड १९ सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा नेपाल मेडिकल काउन्सीलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सरकारले पीसीआर ल्याब निकै खर्चिलो भएको र अहिले स्थापना भएका ल्याबको क्षमताले नेपालका लागि पुग्ने भएकाले ल्याबको संख्या बढाउने विषयलाई रोक्नुपर्ने बताउनुभयो ।
हरेक स्थानीय तहले डोजर किने जस्तो गरी पीसीआर मेसिन किन्ने लहर चलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । करोडौँ खर्च गरी पीसीआर मेसिन खरिद गर्न नहुने उल्लेख गर्दै उहाँले व्यापारीहरुले पीसीआर मेसिन विकाउन हल्ला चलाउने गरेको र नेतृत्वकर्ताहरु त्यसको पछि लाग्ने प्रवृति देखा परेको बताउनुभयो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले पनि पीसीआर ल्याबको संख्या नेपालमा धेरै भइसकेको बताउनुभयो । उहाँले पीसीआरको विकलपमा एन्टीजम परीक्षण र एन्टीवडि परीक्षण हुने र ती परीक्षण अहिलेका पीसीआर मेसिनबाट हुन नसक्ने भएकाले कोभिड नियन्त्रणमा आएपछि पीसीआर मेसिनको काम नलाग्ने बताउनुभयो । पीसीआरले कुनैपनि रोगको जिनको परीक्षण गर्ने भएकाले नेपालमा ती मेसिनको काम नलाग्ने स्थितिमा आउन सक्ने बताउनुभयो । उहाँले पछिल्लो समय राजनीतिक रुपमा नै पीसीआर ल्याब बढाउँदै जाने प्रवृति देखा परेकाले त्यसालाई पनि रोक्नुपर्ने बताउनुभयो ।
हाल नेपालमा सरकारी र निजी गरी ४८ पीसीआर ल्याब स्थापना भइसकेका छन् । अहिले पनि कतिपय स्थानीय तहले पीसीआर ल्याब निर्माण गर्ने भन्दै अगाडि बढिरहेका छन् । नेपालमा अहिले स्थापना भएका पीसीआर ल्याबाट दैनिक २५ हजार भन्दा बढीको परीक्षण सम्भव भएको उनीहरुको भनाई छ । सरोकारवालाहरुले पीसीआर ल्याब निर्माण गर्नुलाई राजनीतिक विषय बनाउन नहुने पनि बताएका छन ।