कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अन्तराष्ट्रिय तहमा छलफल
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अन्तराष्ट्रिय तहमा समेत छलफल गरेका छन् । अर्थमन्त्री खतिवडाले बुधबार सो छलफल गरेका हुन् । मन्त्री डा. खतिवडाले दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्रा्ष्ट्रिय मुद्राकोष र विश्व बैंकलगायत अन्य अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारी संग छलफल गरेका अर्थमन्त्रालयले जनाएको छ ।
हालै विश्वभर फैलिएको कोरोना भाईरसले अर्थतन्त्रमा पारेको एवं पार्न सक्ने प्रभाव र त्यस विषयलाई सम्बोधन गर्ने उपाय बारे बुधवार अर्थ मन्त्री खतिवडाले भिडियो कन्फरेन्स मार्फत् छलफल गरेका मन्त्रालयले जनाएको छ । कन्फरेन्समा अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी गराएका थिए ।
मन्त्री खतिवडाले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राख्दै महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको जनाए । त्यसैगरि स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको कुरा पनि मन्त्री डा. खतिवडाले जनाएका छन् । त्यसैगरि कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने मन्त्री खतिवडाले अनुरोध गरेका मन्त्रालयले जनाएको छ ।
मन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिँदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा समेत रखेका थिए । सो भिडियो कन्फरेन्समा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ रि , विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्रा्ष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो । सो छलफलमा नेपालबाट अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजरको समेत उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ ।