अमेरिकामा उपभोक्ता मूल्यमा १३ वर्षयताकै उच्च वृद्धि

साउन ३, काठमाडौं । अमेरिकामा उपभोक्ता मूल्यमा उच्च वृद्धि भएको छ । कोरोना भाइरसको महामारीका कारण सुस्ताएको अर्थतन्त्रले गति लिन थालेसँगै उपभोक्ता मूल्य सूचकांक (सीपीआई) जुनमा करीब १३ वर्षकै उच्च विन्दुमा उक्लिएको हो ।

त्यहाँको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा सीपीआई ५ दशमलव ४ प्रतिशतले बढेको हो ।

सूचकांकमा भएको यो वृद्धि सन् २००८ को अगष्टयताकै उच्च हो । सीपीआईले किराना, लत्ताकपडा समेत वस्तु र सेवाको डालोमा रहेको अन्य केही वस्तुको लागि उपभोक्ताहरुले तिरेको मूल्य मापन गर्दछ ।

समीक्षा अवधिमा सूचकांकमा ४ दशमलव ९ प्रतिशतको वृद्धि देखिने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए । खाद्यान्न र ऊर्जाको मूल्य बाहेकको कोर सीपीआई भने गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा साढे ४ प्रतिशतले बढेको छ । यो सूचकांक ४ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।

कोरोना भाइरस विरोधी खोप कार्यक्रम अगाडि बढेसँगै अमेरिकी व्यवसायहरु खुल्ने क्रम बढेको छ । अमेरिकीहरुले सरकारबाट राहतबापत हजारौं डलर पनि पाएका छन् । तर आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण व्यवसायीहरुलाई भने संघर्ष छ ।

विश्वभर चिप अभावका कारण अटो निर्माताहरु उत्पादन घटाउन बाध्य बनेका छन् । सेकेन्ड ह्यान्ड सवारी साधनकै मूल्य ४५ प्रतिशत भन्दा धेरैले बढेको छ
(स्रोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)

 

 

 

Spread the love