अस्वस्थ्य रहेका प्रधानमन्त्री ओलीले गरे भर्चुअलरुपमै भवनको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअल रुपमा उदघाटन गरेका छन् ।
प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधन सहित उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रम स्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदा हुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रुपमा उपस्थित हुन असमर्थ भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवादिन र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।


उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङ लगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए ।
उनले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा जिल्ला थप अग्रसर हुने अपेक्षा गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतको उपस्थित थियो ।

Spread the love