आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेका छन् ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभा समक्ष पेस गरेका हुन् ।
उक्त मूल्यांकन प्रतिवेदन पेस गर्दै पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन् ।उनले भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताए ।
साथै उनले सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासले आर्थिक गतिविधि वृद्धि भई यसवर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरे ।
उनले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्डअनुरुप लेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शीता र विश्वसनीयता बढेको बताए ।
समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले आर्थिक वृद्धिको परिचालकका रुपमा रहेको पूँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा भने उल्लेख्य सुधार हुन सकेको बताए ।

Spread the love