काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

उनले परराष्ट्र सेवा केवल औपचारिक कूटनीतिक सम्बन्धमा सीमित नभई देशको आर्थिक विकास, लगानी प्रवद्र्धन, पर्यटन विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको परराष्ट्र सेवाको ६५ वर्षे इतिहास राष्ट्रको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षणसँग जोडिएको बताए।

मन्त्री खनालले नेपालको कूटनीतिक इतिहास निर्माणमा योगदान पु¥याउने अग्रज कूटनीतिज्ञ तथा परराष्ट्र सेवाका पूर्वअधिकारीहरूको भूमिकाको प्रशंसा गर्दै सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच पनि उनीहरूले नेपालको राष्ट्रिय हितको रक्षा गर्न महत्वपूर्ण योगदान दिएको बताए।

यस क्रममा उनले आइज्याक न्यूटनको चर्चित भनाइ उद्धृत गर्दै अनुभव र परम्पराको निरन्तरताबाट नै नयाँ पुस्ताले अगाडि बढ्ने अवसर पाउने बताए। उनले भने, ‘मैले अगाडि हेर्न सकेको छु भने त्यो दिग्गजहरूको काँधमा उभिएर नै हो।’ विदेश सेवाका अग्रजहरूको अनुभव र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने उनको धारणा थियो।

मन्त्री खनालले नेपालको कूटनीतिक यात्रालाई वर्तमान राष्ट्रिय आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिँदै परराष्ट्र सेवा देशको आन्तरिक नीति र प्राथमिकताभन्दा अलग रहन नसक्ने स्पष्ट पारे।

नेपाल सरकारले संविधानमार्फत राष्ट्रिय हितलाई केवल सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सीमित नगरी आर्थिक समृद्धि र नागरिकको कल्याणसँग समेत जोडेको उल्लेख गर्दै उनले वर्तमान समयमा आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको मुख्य आधार बनाउनुपर्ने आवश्यकता औँल्याए।
मन्त्री खनालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने तथा नेपाली उत्पादनका लागि अन्तर्राष्ट्रिय बजार विस्तार गर्न कूटनीतिक सम्बन्धलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

उनले परम्परागत कूटनीतिक अभ्यासलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई नेपालको विकास र समृद्धिको आधार बनाउने दिशामा परराष्ट्र सेवा केन्द्रित हुनुपर्ने बताए।

मन्त्री खनालले अन्त्यमा परराष्ट्र सेवामा कार्यरत अधिकारीहरूलाई व्यावसायिकता, राष्ट्रप्रतिको समर्पण र दूरदृष्टिका साथ काम गर्न आग्रह गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए।