उद्योगीको माग अनुसार ऋणको ब्याजदर एकल अंकमाः डेपुटी गभर्नर मिश्र

व्यवसायीहरूको अनुरोध अनुसार नै ऋणको ब्याजदर एकल अंकमा आएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बिहिबार काठमाडौंमा सुरु भएको पूर्वाधार सम्मेलनमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।
उनले भने –व्यवसायीहरुको अनुरोध अनुसार ने अहिले ऋणको ब्याजदर एकल अंकमा आएको छ । लगानी विस्तारका लागि यो उपयुक्त अवस्था हो,’ । उनले ऋणको ब्याजदर एकल अंकमा आएकाले लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने अवस्था रहेको बताए ।
त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्ध नेपालको मूल आधार दिगो र गुणस्तरीय भौतिक पूर्वाधार भएको बताएका छन् । उपप्रधानमन्त्री पौडेलले पूर्वाधार सम्मेलनले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरुमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तिहरु, नीति निर्माताहरु, विज्ञ, सरोकारवालाहरु एउटै मञ्चमा ल्याउन सफल भएको बताए ।
सम्मेलनले नेपालको प्रतिस्पर्धी क्षमता भएका र तुलनात्मक लाभ भएका क्षेत्रका पूर्वाधार विकासमा लगानी गर्न प्रेरित गर्ने, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना एवम् गरिबी न्यूनीकरणमा समेत योगदान गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
उहाँले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रकृयागत सुधार गर्नु आवश्यक रहेको औंल्याए । उपप्रधानमन्त्री पौडेलले सरकारी क्षेत्रका साथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको बताए ।
सरकारको एक्लो प्रयासबाट मात्रै पूर्वाधार विकासको काम पूरा गर्न सम्भव नरहेको भन्दै उनले यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवम् विकास साझेदारसमेतको उत्तिकै भूमिका रहने बताए ।

Spread the love