संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्य्विधि पारित गरेको छ । बिहीवार बसेको बैठकले १७ बुँदे कार्य्विधि पारित गरेको हो । कार्य्विधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको संघ महासचिव डा. हेमराज शर्माले बताएका छन् । नयाँ कार्य्विधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।
आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए । संकलित रकम कहाँकसरी खर्च गर्ने विषयमा समेत कार्य्विधिमा उल्लेख गरिएको छ । कार्य्विधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ । संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मतहतमा रहने व्यवस्था कार्य्विधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्य्विधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्य्विधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ ।