अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राख्नु भएको हो । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गर्नुभएको हो । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझ्नुभएको हो ।
भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले बताउनुभयो । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढि जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राख्नु भएको थियो । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।