कर प्रणालीमा सुधार आवश्यक छ ः निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्नको लागि कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले कर प्रणालीमा धेरै समस्याहरु रहेकाले कर प्रशासकीय प्रणालीमासमेत पुनरावलोकन गर्न आवश्यक औंल्याउनु भयो । अध्यक्ष गोल्छाले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले कर तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्ने भन्दै निजी क्षेत्र र सरकारबीच सहकार्य नभए कठिन परिस्थिती आउने बताउनु भयो । अध्यक्ष गोल्छाले राजश्वमा संकलनमा कमी आएकाले बजारमा तरलता अभाव भएको बताउनु भयो । उहाँले तरलता अभावले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले राजश्व संकलनमा निजी क्षेत्रको कारण कमी नभएको बताउनु भयो । उहाँले मुलुकभर उद्योग,व्यापार व्यवसायमा आएको कमीको कारण राजश्वमा कमि भएको बताउनु भयो । अध्यक्ष अग्रवालले उद्योग व्यवसायको मागमा करिव २५ देखि ३० प्रतिशत ह्रास आएको बताउनु भयो । उहाँले सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले मागमा कमी आएको बताउनु भयो । उहाँले उद्योग व्यापार व्यवसायको मागमा आएको कमीले पुससम्ममा राजश्वमा अझै कमी आउने बताउनु भयो । उहाँले सरकारले तरलता अभावलाई सहजता र ब्याजदर वृद्धि नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खुला नाकाबाट हुने चोरी निकासीलाई व्यवस्थित गरी करको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले कर प्रणालीलाई सरकारले डिजिटल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले तीन वटै तहका सरकारलाई मान्य हुने कर राजश्व खाता व्यवस्थित गरे मात्रै राजश्वमा वृद्धि हुने बताउनु भयो ।
आर्थिक वर्ष २०७७/०७८ मा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ । यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयबहादुर शाह रहेका छन् । आयकरतर्फ नेपाल दूरसञ्चार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको हो । निर्यात विशेषतर्फ शिवशक्ति घ्यु र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन् । बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन् । आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ ।

Spread the love