कुनै पनि प्रकारको दबाबमा नपरी कामगर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमा मानव निर्मित ‘द ब्लु प्याभिलियन’भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यक रुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरु लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरु आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे ।
उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापितगर्दै यहाँभित्रमूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिनुभयो । विसं. २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियनको रु ७५ करोड ८७ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसदमा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर छिटो पारित गर्ने विश्वास दिलाए ।
कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय सांसद धु्रव बहादुर प्रधान लगायतको उपस्थित रहेको थियो ।

Spread the love