लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिन लागेकोे छ । कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । केही घण्टापछि नै कुलेखानी भरिएर खोलामा बाढी आउनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको आयोजनाले जनाएको छ ।
कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हँुदै बाग्मती खोला भएर बग्छ । त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।