कोभिडको असर कम भएसगै अर्थतन्त्रमा समेत सुधार हुदै गएको छ ः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताउनु भएको छ । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताउनु भएको हो । उहाँले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताउनु भयो । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताउनु भयो । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको बताउनु भयो । गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताउनु भयो । चालू आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताउनु भयो ।
त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताउनु भयो । उहाँले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताउनु भएको हो । उहाँले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताउनु भयो । अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको मिश्रले बताउनु भयो । उहाँले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताउनु भयो । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । उहाँले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताउनु भयो । पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।

Spread the love