गृह मन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दिको सबै नियमहरु पालना गर्न अपील गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको बताउनुभयो । गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरी संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताउनुभयो । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो । लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो ।
अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताउनुभयो । कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताउनुभयो ।
यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताउनुभयो । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताउनुभयो । बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उहाँले बताउनुभयो । हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको बताउनुभयो । गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनस्थापनाका लागि निकासी गरी काम भइरोखेको बताउनुभयो ।