गएरातिबाट लक डाउन खुला भएसगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लक डाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोर विजोर प्रणाली समेत हटेको छ । सवारी चाप बढेसँगै लक डाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकामा ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताउनुभयो ।
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उहँले बताउनुभयो । संक्रमणको जोखिमकाबीच सार्वजनिक सवारी समेत सञ्चालना आएको अवस्थामा सामाजिक दुरी कायम भए÷नभएको, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको÷नअपनाएको पनि चेकजाँच भइरहेको उहाँले बताउनुभयो । ड्युटीमा खटिएका ट्राफिक प्रहरी समेत सामाजिक दुरी कायम गरेर काम गरिरहेको उहँले बताउनुभयो ।
प्रमुख ढकालले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गर्नुभएको छ । ट्राफिक नियम उलंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारवाही गरिने उहाँले बताउनुभयो । मापसे सेवन गरेको आशंका लागेमा स्वास्थ्य संस्थामा लगेर मेडिकल परीक्षण गरी र कानून अनुसार कारवाही गरिने बताउनुभयो ।