गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनु भयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताउनु भयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाई छ ।
राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनु भयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गर्नुभयो । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । राष्ट्रिय सभाको मंगलवारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।

Spread the love