गुर्जुधारा यातायात कार्यालयमा यातायातमन्त्री घनश्याम दाहालको अनुगमन

वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु भयो । मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइनमा परिणत गर्नुपर्ने बताउनु भयो । उहाँले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताउनु भयो । उहाँले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताउनु भयो ।

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरुका कारण इमान्दार कर्मचारीहरुले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराउनु भयो । उहाँले कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिनुभयो ।

Spread the love