काठमाडौं । सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्याएर भएपनि सदन चलाउनुपरेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विरोध, अवरोध भएपनि मिलाउन नसकेको खण्डमा जबरजस्ती संख्या पु¥याएर भएपनि सदन चलाउनपर्ने बाध्यता रहेको बताए ।
संसदीय व्यवस्था र प्रणाली माथि नै चुनौती खडा भइरहेका भन्दै इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी एवम् जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्ने धारणा राखे ।
सरकार संसदप्रति उत्तरदायी हुन आवश्यक छ : अध्यक्ष दाहाल
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले धेरै थरिका सोच, प्रवृति र दृष्टिकोण भएको संसद भएकाले यसलाई सहज व्यवस्थापन गरेर अगाडि बढ्न कठिनाइ भएको बताए । त्यस्तै उनले कानुन निर्माणमा साँच्चिकै ढिलो भएको हो कि भन्ने अनुभव आफूलाई भएको पनि सुनाए ।
अध्यक्ष दाहालले संसदमा सांसदहरुले उठाएका जनताका समस्याहरुलाई समयमा नै सम्बोधन गर्न र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँदै भने,‘संसदमा सांसदहरुले उठाएको जनताका समस्याहरुलाई समयमा नै सम्बोधन गर्न र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक छ ।’