दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् ।
‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् ।
दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए ।
उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु । माटो भनेको देश हो । हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त ।’
उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए ।
‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौ,’ उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ ।’
यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए ।

Spread the love