प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुन सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभयो । नया नक्सा जारी गरेवाफत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोली परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाले प्रधानमन्त्री बन्न हतार नगर्न पनि आग्रह गर्नुभयो । पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो । प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उहाँले व्यक्त गर्नुभयो ।
ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताउनुभयो । राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताउनुभएको हो ।
आफै महंगा गाडी चढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, स्विडेनको राजा साइकलमा हिँड्छन् । उनी सौखका लागि हिड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।
प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताउनुभयो । कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै उहँले शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको बताउनुभयो ।