नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढीरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । आईतवा तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा सामन्ती,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताउनु भयो । उहाँले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको बताउनु भयो । नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने बताउनु भयो ।

Spread the love