नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्छ : गृहमन्त्री खाँण

पुष २९,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले बताउनुभयो । नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उहाँले धारणा राख्नुभयो ।

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताउनुभयो । यसका साथै कच्चा सुन किन्दा विदेशी भुमिमा पुगेको पैसा गहना विक्रि गरेसँगै नेपाल फर्किने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्धत पु¥याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टी ध्यान दिनुस् । विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस् ।’

उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।

 

Spread the love

Comment here