नेपाल प्रज्ञा-प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा-प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीवार नेपाल प्रज्ञा- प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा-प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । उहाँले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहाँले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताउनु भयो । उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रज्ञा-प्रतिष्ठानले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा-प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । नेपाल प्रज्ञा- प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका उहाँले प्रज्ञा-प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गर्नुभयो । मन्त्री आलेले नेपाल-प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गर्नुभयो ।

Spread the love

Comment here