काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् ।
शनिबार काठमाडौंमा ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए ।
यसको साथै, उनले आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको पनि बताए।
पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने पनि उनको भनाइ छ।
सोही क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको भन्दै पर्यटकीय सुरक्षा व्यवस्थापन कार्यमा सबै सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको बताए ।