काठमाडौं । पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतिहरु सुनाएका छन् ।
२०७६ साल चैत्र २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भएपनि सफल उनको निष्कर्ष थियो । स्वायत्ततालाई जोगाउन सहयोगमा अधिकारीले सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ता प्रति धन्यवाद समेत दिए ।
अधिकारीले सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामा प्रहार भएको र त्यसलाई बचाउन सर्वोच्च अदालतको भूमिका राम्रो रहेको भन्दै प्रशसा पनि गरे । आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको उनको दाबी थियो ।
त्यस्तै अधिकारीले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोरोना महामारी, रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूला चुनौति आइपरेपनि चुनौतीलाई सक्दो समाधानको पहल गरेको स्पष्ट पारे ।
अधिकारीले आफ्नो कार्यकालमा वैदेशिक पूँजी लगानीको लागि बैंकबाट लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिए । उनले वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिएका हुन् ।
उनले आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुुअल र कार्यविधि लगायत ११६ वटा व्यवस्था जारी गरिएको जानकारी गराएका छ
अधिकारीले पाँच वर्षको अवधिमा ११ वटानिर्देशिका, सातवटा म्यानुुअल र ४१ वटा कार्यविधि ल्याइएको समेत जानकारी गराए । यी नेपाल राष्ट्र बैंकको आन्तरिक भएको उनको भनाइ छ । यी सबै व्यवस्था हाल कार्यान्वयनमा रहेको अधिकारीले बताए ।