भरतपुर । तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ क्वाटरफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछन ।
क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन । पहिलो क्वाटरफाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इंग्लिश बोर्डिङ स्कूल खेल्ने छन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पारिजात इंग्लिश बोर्डिङ स्कूलले पहिलो संस्करणको विजेता सोमाङ जीव ऐकेडेमीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आज नै दोस्रो खेलमा ३ बजे अमर माध्यामिक विद्यालय र नारायणी पब्लिक स्कुल प्रतिस्पर्धा गर्न कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । आजको खेलमा जित निकाल्ने टोली उपाधि होडका लागि बलियो दावेदार मानिनेछ ।
क्वाटरफाइनलका लागि अरूणोदय माध्यामिक विद्यालय, शोमेश्वर माध्यामिक विद्यालय, नारयाणी नमुना माध्यामिक विद्यालय र स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल पनि प्रवेश गरेका छन् । बुधबार यीटिमले प्रतिस्प्रर्धा गर्नेछन् । जसअनुसार पहिलो खेल अरूणोदय माध्यामिक विद्यालय र नारयाणी नमुना माध्यामिक विद्यालय विच हुनेछ भने स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिक विद्यालयविच दोस्रो खेल हुने सापकोटाले बताए ।
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथनयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसी इमर्जिङ कप आयोजना हुदैँ आएको छ। पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा यस पटक चितवनका १६ विद्यालयहरू सहभागी थिए । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेल मैदानमा माघ १२ गते सम्म हुने छ ।
प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्रीट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामग्री सहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाणपत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
पटि हानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यस अघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालय बीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धि मूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।