बीआरआई परियोजना सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनु भएको छ । सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूणर् कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो परियोजनाको सफल र शिघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तरगत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पार्नु भयो । यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भईरहेको स्मरण गराउँदै उहाँले नेपालले त्यसलाईं ठोस निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताउनु भयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टिकरण दिनु भयो । उहाँले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताउनु भयो । मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल-चीन सम्बन्ध पारस्पारिक, मैंत्रीपूणर् र सुमधुर रहेको पनि दोहोर्‍याउनु भयो । नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले सो दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि गरेको उहाँको भनाई थियो ।

Spread the love