म्याग्दी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।
माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तन मार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे ।
यस्तै, उनले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए ।
आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए ।
आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्ग लगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए ।
यसको साथै, उनले माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिका मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान सहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताए ।