बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको अर्थमन्त्री शर्माको आरोप

पुष २७,काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाउनु भएको छ ।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले कोरोना महामारी जस्तो संकटमा समेत बैंकहरु बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताउनु भएको हो । मन्त्री शर्माले संकटको समयमा पनि बढी नै नाफा कमाउनु पर्छ भन्ने मानसिकता राख्न नहुने बताउनुभयो । बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपायहरु पनि अपनाउन जरुरी रहेको बताउनुभयो । उहाँले बैंकहरुले संकटको समयमा पनि उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पु¥याउन राम्रो नभएको गुनासो गर्नुभयो । नेपालमा संकटको अवस्थामा पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति मूख्य समस्या रहेको त्यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री शर्माले को उद्योगी को व्यवसायी र को बैंर्कर छुट्याउन गाँह्रो भएको टिप्पणी बताउनु भयो ।

अर्थमन्त्री शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभयो । उहाँले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताउनु भयो । लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरी पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताउनुभयो । उहाँले अब लकडाउन नभएर उचित रुपमा सुरक्षाका उपायहरु अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा धेरै चुनौतीहरु रहेको तर संकट भने नरहेको बताउनुभयो । मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताउनुभयो । उहाँले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने बताउनुभयो । तरलता समस्या समाधान गर्नको लागि सरकारले काम गरिरहेको समेत बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री शर्माले बेमौसमी वर्षाका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका उत्पन्न भएको बताउनुभयो । उहाँले सरकारले लक्ष्य लिए अनुसार आर्थिक वृद्धि गर्ने कुरामा लागि रहेको बताउनुभयो । उहाँ चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको स्वीकार गर्नु भयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताउनुभयो । उहाँले अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताउनुभयो । गौल्छाले उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी बढाउनु नसक्नु कस्ट अफ डुइङको भएको बताउनुभयो ।

अध्यक्ष गोल्छाले तरलता राज्यको समस्या भएको भन्दै योसमाधान नभए राज्य नै असफल हुने बताउनुभयो । सरकारले तरलता समस्याको समाधान नगरे केही महिनामा औषधि समेत किन्न नसक्ने अवस्था आउन सक्ने बताउनुभयो ।

नोटः यो समाचार निमार्णका लागि भिडियो सौजन्य उपलब्ध भएकोले थप भिडियो फुटेज नभएको जानकारी गराइन्छ । यसलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।

Spread the love

Comment here