नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरणिय रहेको बताउनुभएको छ । भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड—१९ नियन्त्रणका लागि नेपालको प्रयास उदाहरणिय रहको बताउनुभएको हो । विश्वव्यापी महामारीका रुपमा रहेका कोभिड—१९ महामारीको सशक्त र सकारात्मक रुपले नेपाल र नेपाली जनताले गरिरहेका सामना प्रशंसनिय मात्रै नभएर एसिया क्षेत्रका लागि उदाहरणिय रहेको उहाले बताउनुभयो ।
सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । सहयोग सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि भारतले नेपाललाई सहयोग गर्न गर्छ भन्ने उदारहण दिएको बताउनुभयो । आफुलाई परेको अफ्ठ्यारोमा पनि छिमेकीको नाताले भारतले गरेको सद्भाव र सहयोगका लागि मन्त्री ढकालले धन्यवाद ज्ञापन गर्नुभयो ।
भारत सरकारले विभिन्न १८ किसिमका २३ टन औषधि नेपाललाई दिएको हो । प्राप्त सहयोग नेपालका लागि भारतीय राजदूत क्वात्राले स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गर्नुभयो । पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु नेपाललाई सहयो गरेको हो । औषधिहरु विभिन्न चरणमा प्राप्त हुने मन्त्रालयले जनाएको छ । यसैबीच बुधबार चीनको तिब्बत सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
१० हजार एन ९५ मास्क, १० हजार थान पिपिइ र एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको मन्त्रालयले जनाएको छ । यस्तै दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट। ५० बक्स डिसइन्फेक्सन वेट वाइप पनि दिएको छ । सो स्वास्थ्य सामग्री चिनियाँ अधिकारीहरुले बुधबार तातोपानी नाकाबाट नेपाली पक्षलाई हस्तान्तरण गरेको छ ।