भिजन लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल निर्वाचित

बुटवल । भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारण सभाले अध्यक्षमा पुनः जगत पोखरेललाई नै निर्वाचित गरेको छ । त्यस्तै उर्जा कम्पनीको पाँचौँ र छैठौँ साधारण सभाले सञ्चालक समितिका सदस्यहरु मात्रै चयन गरेको छ । उर्जा कम्पनीको अध्यक्षपछि चयन गरिने भएको छ ।
दुवै कम्पनीका संस्थापक अध्यक्ष पोखरेलले दुवै कम्पनीका लगानीलाई पारदर्शी र अति मेहनेतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगती भएको विवरणहरु साधारण सभामा पेश गरे । निरन्तर लगाव, निरन्तर मेहनेत र निरन्तर समर्पणबाटै सकारात्मक परिणाम आएको उनको भनाई थियो ।
बुटलबाट सुरु भएको दुवै कम्पनी मध्ये भिजन लुम्बिनी लिमिटेडमा एक हजार र उर्जा कम्पनीमा १६ सयभन्दा बढी संस्थापक लगानीकर्ता देशभरीका रहेका छन् । भिजन लुम्बिनी कम्पनीले उर्जा, लघुवित्त, लघुविमा, यातायात, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ भने उर्जा कम्पनीले कास्कीमा सेतीनदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ ।


आयोजनाको काम सुरु गरेको झण्डै चार बर्षको अवधिमा २५ मेगावाटको जलविद्युत उत्पादन गरेर विद्युत प्राधिकरणलाई बेच्न सफल भएकोमा लगानीकर्ताहरुले साधारण सभामा अध्यक्ष पोखरेलसहित वोर्ड सदस्य र कर्मचारीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Spread the love