भूमि समस्या बाहेकका विषयमा अहिलेसम्म छलफल गर्न नपाएको भुमि मन्त्री पद्मा अर्यालको गुनासो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गर्नुभएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा भूमिको समस्या बाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो मन्त्री अर्यालले गर्नुभयो । उहाँले भूमिको सन्दर्भमा अहिले सम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको भन्दै त्यसलाई सुधार्न आफु लागिपरेको बताउनुभयो ।
मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै नै विवादहरु रहेको र त्यसलाई कानून निर्माण नगरिकन व्यवस्थित गर्न नसकिने स्पस्ट पार्नुभयो । सरकारले एकीकृत कानून निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठीयारहरुको भावनालाई समेटेर नै कानून आउने स्पस्ट पार्नुभयो । उहाँले सरकारी सार्वजनिक जग्गामा जस्तै गुठीका जग्गामा सरकारले हस्तक्षेप नगर्ने तर अतिक्रमित जग्गाको संरक्षण गर्ने बताउनुभयो । अतिक्रमणमा परेका गुठीका जग्गालाई फिर्ता गर्ने कामको सुरुवात मन्त्रालयले गरेको जानकारी समेत मन्त्री अर्यालले दिनुभयो । उहाँले गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएको तर अगाडि बढाउन नसकिएको समेत बताउनभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र गुठी संस्थानबीच पनि विवाद हुने गरेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले मन्त्रालयले गुठी संस्थानको स्वीकृति बिना नै जग्गाको प्रयोग गर्दा विवाद उत्पन्न भएको जानकारी दिनुभयो । कतिपय विवादमा मन्त्रीहरु नै बसेर छलफल गरी विवाद टुङ्ग्याउनु परेको अवस्था रहेको समेत उहाले बताउनुभयो बैठकमा सांसदहरुले विभिन्न गुठीका जग्गाको अतिक्रमण भएको र ति जग्गालाई फिर्ता ल्याउन मन्त्रालयले गरेको कामकारबाहीको विषयमा जानकारी मागेका थिए ।

Spread the love