भैरहवाले तीन विदेशी खेलाडीको नाम सार्वजनिक ग¥यो

भैरहवा ग्लाडियटर्सले आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपिएल) लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ ।  चैतमा पहिलो साताबाट टियु क्रिकेट मैदानमा हुने चौथो ईपीएल–२०२० का लागि भैरहवाले पत्रकार सम्मेलन गरेर तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो । यो सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बाया हाते ब्याट्सम्यान मिलिन्दा सिरिवद्धनालाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । त्यस्तै ओमानका बायाहाते बलर विलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने भएका छन् । जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् भने मिलिन्दाले २७ खेल खेलेका छन् । यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ । ओमानी टिमका महत्वपूर्ण सदस्य बिलालले हालै नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वानी स्मिथलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुवुदु दशानायके यसपटकको इपिएलमा भैरहवाको प्रशिक्षण सम्हाल्दै हुनुहुन्छ । ६ टोली मध्ये भैरहवालाई शरद भेषावकरले सम्हाल्दै छन् ।

Spread the love