मतदान स्थलको निरीक्षण गर्दै पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिम

पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ । पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरिरहेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टीमले त्यहाँको मतदान स्थल र मतदाताहरुको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ । मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले अन्य स्थानहरु भन्दा मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताहरुको उपस्थिति रहेको पाइएको बताउनु भयो । धेरै मतदाताहरु भएकोले मतदान प्रक्रियामा ढिला भएको उहाँले बताउनु भयो । मतदानका लागि ज्येष्ठ नागरिकहरुलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उहाँको भनाइ छ ।
पर्यवेक्षक श्रेष्ठले केही मतदान केन्द्रमा मतदान गर्ने क्रममा ढिलाइ भइरहेको गुनासो मतदाताहरुले गरेको पनि बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई पहिला पालो दिँदा केही समय ढिला भएको भएपनि मतदान अधिकृतहरुले यस समस्यालाई चाँडै समाधान गर्ने बताएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । निर्वाचनमा भयरहीत र निष्पक्ष रुपमा सहभागी भइ मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

Spread the love