असार २१, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्देछन् ।
यो आयोजनाको बिजुली आजदेखि परीक्षण उत्पादन हुँदैछ । पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०६७ साउनमा शुरु गरिएको आयोजनाबाट ११ वर्षपछि बल्ल विद्युत् उत्पादन शुरु हुन लागेको हो । आजदेखि आयोजनाबाट उत्पादित ७६ मेगावाट विद्युत् पहाडी क्षेत्रमा उत्पादन भए पनि धनुषाको ढल्केबर हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन लागेको छ । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।

भदौ महीनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।
२०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको विसं २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिव ११ बर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।