प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । स्मार्ट लाइसेन्स र यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसका कारण समस्यामा परेका यातायात व्यवसायीहरुलाई राहत तथा सहुलियत उपलब्ध गराउन निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खडकाले कोभिड १९ को प्रभावका कारण सिर्जित समस्याले लगानी डुब्ने खतरा बढेकोले व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न, बैंक ऋणको पुर्नतालिकिकरण गर्न र पुर्नकर्जा उपलब्ध गराउने विषयमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको बताउनुभयो ।
समितिले यातायात व्यवस्था विभागमा जनशक्ति अप्रयाप्त भई कामको चापलाई समयमै सम्पन्न गर्न कठिनाई भएकाले विभागको गठन तथा व्यवस्थापन सर्भे गरी आवश्यक परिपूर्ति गर्ने कामलाई तत्काल अगाडि बढाउन समेत मन्त्रालयलाई र्दिेशन दिएको छ । यस्तै काठमाडौं उपत्यका सहित प्रमुख सहरहरुमा प्रवेश गर्ने सवारी साधनलाई धुलो मुक्त गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको सभापति खडकाले बताउनुभयो । समितिले भारतीय सवारी साधनको निर्वाध आवतजावत र प्रयोगलाई नियमन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर, जीपिएस ट्रयापिङ लगायतको व्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको छ ।
समितिले लाइसेन्स प्रणालीलाई प्रभावकारी र व्यवस्थित गर्न, निजी सवारी साधनको लाइसेन्स वाहकलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने गरी छुट्टाछुट्टै मापदण्ड तयार गरी कर्यान्वयन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कोभिड १९को संक्रमणको अवस्थामा सार्वजनिक यातायात सञ्चालनको ठोस योजना बनाई कर्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई उपलब्ध गराउन समेत समितिले मन्त्रालय र विभागलाई निर्देशन दिएको छ ।