सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताउनुभएको छ । संबाद डबलीमा भएको शाक्षत्कारमा उहाले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताउनुभएको हो । उहाँले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताउनुभयो ।
संविधान संशोधनका लािग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो । तर पार्टी भित्र र बाहिरबाट यसको विरोध भएपनि भंग गरिएको छ । राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने उहाँले बताउनुभयो । पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उहाँले बताउनुभयो । राष्ट्रिय हित अनुकुल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।
एमसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ । अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने÷नगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ ।