रासायनिक मलको अनुदान कटौति गर्ने निणर्य तत्काल फिर्ता लिन सरकारसँग माग

नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौति गर्ने निणर्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निणर्य किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो । आईतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनु भयो । महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍यो भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिनु भयो ।
महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

Spread the love