गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा युवती सहित उनका बुबा,आमा , वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल सहित १२ जनालाई प्रारम्भीक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो । किटानी जाहेरी नआएको भन्दै घटनामा संलग्न वडा अध्यक्षलाई छोडिएको भन्ने सांसदहरुको प्रश्नमा उहँले अहिले सम्म वडा अध्यक्ष प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभयो ।
उहँले घटनाको सत्य तथ्य छानविन गरि राय सहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको तथा समितिलाई दुई हप्ता भित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराउनुभयो । उहँले छानविनपछि प्रतिवेदनका आधारमा दोषीलाई कडा कारवाही गरिने तथा पीडीतलाई क्षतिपुर्ति उपलब्ध गराउने बारेमा राज्यले सोच्ने स्पष्ट पार्नुभयो । उहाँले घटनाको छानविनमा राज्यको तर्फबाट कुनै पनि राजनीतिकरण नहुने प्रतिवद्धता पनि जनाउनुभयो ।
उहाँले घटनाका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गरि कानुनी राज्यको स्थापना गर्नै प्रतिवद्धता पनि जनाउनुभयो । समाजमा अन्तरनिहित चिन्तन अन्त्य संगै जातिय उत्पीडन पनि अन्त्य हुने भन्दै उहाँले निम्न बर्गमाथि हुने श्रृंखलावद्ध उत्पीडनको अन्त्यका लागि कानुन कार्यान्वयनलाई प्रभावकारी बनाईने बताउनुभयो ।
गृहमन्त्रीले घटनाबारे जानकारी गराएपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए ।

२० जना सांसदहरुले यसै विषयलाई लिएर संसदमा राखेको धारणाहरु
सांसद लक्ष्मी परियार
गृहमन्त्रीले रुकुमको घटनालाई लिएर जवाफ दिनुभयो । हामी पिडितहरुले न्याय पाउछौ भन्ने विश्वास गरेका छौं । हामीले लामो समयसम्म थुप्रै कुराहरुको प्रश्नको उत्तर पाएका छौं तर कार्यान्वयन पाएका छैनौं । अहिले गृहमन्त्रीले वडा अध्यक्ष सहित छानविनमा पक्राउ परेका छन भन्नुभयो तर हामीले सुने अनुसार वडाअध्यक्ष निस्केका छन् । अपराधीलाई सरकारले किन जोगाईराखेको छ ?
सांसद विमला विक
सम्बन्धित जिल्लाको सिडिओले जातिय विभेदको घटना हो कि होइन अनुसन्धान गर्दैछौ भन्नुहुन्छ । सम्बन्धित नगरपालिकाको मेयरले यो जातिय विभेदको घटना हो कि होइन भन्ने अनुसन्धान गछौं । कसैले यसलाई जातिय विभेदको भनि अतिरञ्जित गर्यो भने जोडछौं त्यो असैय हुन्छ भन्नुहुन्छ । भन्न खोजेको के हो? यो कुनैपनि हालतमा तोडमोड गर्नुहुँदैन भन्ने घटना हो ।
प्रत्यक्ष घाइतेहरुले के भन्नुभएको छ भने केही साथिहरु नदीमा हाम फाल्यौं, हामीलाई माथिबाट ढुंगा हानियो, लाठी हानियो, विभिन्न खालका हतियार प्रयोग गरेको कारण मृत्यु भयो भन्नुभएको छ । त्यसैले यो विशुद्धरुपमा जातिय विभेदबाट भएको घटना हो । यसलाई त्यही मर्मका साथ अगाडि लैजानुपछ ।
सांसद निरादेवी जैरु
छानविन गर्ने र घटनाको सत्यतथ्य बाहिर ल्याउने गृहमन्त्रीले बताउनुभएको छ । आज मात्रै होइन जातिय छुवाछुतको घटना घटेको त्यसैले पटक पटक सदनमा कुरा उठ्ने, हामी माग गरिरहने र छलफल हुने र निष्कर्षमा नजाने हो भने कुरा उठान गर्नका लागि उठायौ भन्ने लाग्न सक्छ ।
सांसद सुजता परियार
जाजरकोट निवासी नवराज विक र रुकुम निवासी सुश्मा मल्लबीच रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दा केही पक्षकाले कुटपिट गरि हत्या गरेर नदीमा फालिएको छ । अन्य केही वेपत्ता छन् । दोषीलाई कारबाही होस । गृहमन्त्रीको चित्तबुझ्दो जवाफ आएको छैन । दोषीलाई कहिलेसम्म कारवाही हुन्छ ? संसदिय छानविन समिति किन बनाइएन ?
सांसद बिमला विश्वकर्मा
रुकुम पश्चिमको घटनाले अमानवियताको परकाष्टा नाघेको छ । छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि किन सानो जात भएकै कारण मारिन्छन् दलितहरु ? अन्तरजातिय विवाह गरेकै कारण कति दलितका छोराछोरीले ज्यान गुमाउनुपर्ने हो ? रुकुम घटनामा नवराज बिक सहित ३ जनाको ज्यान गएको छ । ३ जना हराईरहेका छन् । यो देश अन्धा कानुन भएको देश हो ? ब्रहामणवाद कहिलेसम्म हावी हुने यो देशमा ? एउटा व्राहमण क्षेत्रीको छोराछोरी मर्दा पुरा देश आन्दोलित हुन्छ तर दलितका छोराछोरी कुटेर मारिन्छ्न्,झुण्ड्याएर मारिन्छन्, बलात्कार गरेर मारिन्छन् सिंगो समाज नै तै चुप मै चुप हुन्छ । किन? म गृहमन्त्री ज्यूलाई प्रश्न गर्न चाहन्छु यतिबेला गहृमन्त्रालयबाट केन्द्र बाटै अनुसन्धान टोली पठाउनुपर्ने तर त्यसो भईरहेको देखिएको छैन ।
सांसद आशाकुमारी विक
रुकुम घटनाले मानवजातिलाई गिज्याएको छ । हामी दलितहरुले कहिले सम्म यस्ता विभेदका घटना सहनुपर्ने हो ? यो घटनाको दोसिलाई कारबाही कहिले सम्म हुन्छ ? म गृहमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु ।
सांसद प्रकाश रसाईली स्नेही
यो घटना मात्रै होइन अपराध हो । हामीले गृहमन्त्रीको जवाफ मागेका छौं । संसदिय छानविन समिति गठन होस् । रुकुम र जाजरकोटका संघीय संसदको सहभागितामा संसदीय छानविन समिति गठन होस् । स्थानीय वडाअध्यक्ष डम्बर बहादुर मल्लको नेतृत्वमा यो सबै घटना घटेको छ । त्यहाँको प्रहरीले किटानी आएको छैन भनिरहेको छ । फौजदारी अभियोग जस्तो कसुरको विषयमा किटानी जाहेरी आउनुपर्ने ? हामीलाई सुचना प्राप्त भएको छ घर परिवारका मान्छेलाई प्रेसर गरेर मुद्धा नचलाउनु । थोरै भन्दा थोरै मान्छेलाई मात्रै थुनेर। १८ जना मान्छेलाई लखेट्ने । ३ जना मान्छे वेपत्ता हुने । ३ जनाको हत्या हुने । ५ जना मान्छे घाईते हुनका लागि त्यो वडाको कति बल प्रयोग भएको छ हामी सहजै अनुमान गर्न सक्छौ । त्यसैले दुवै जिल्लाका संघीय सांसदको सहभागीतामा शक्तिशाली संसदिय छानविन समिति गठन गरियोस् ।
उमासंकर अरगरिया
गृहमन्त्रीले केटाले केटीलाई भगाएर लान आएको भन्नुभयो । भगाएर लगेको छ कि प्रेममा दुवैजना मिलेर गएको हो । अपहरणको सिलसिलामा भगाएर लाने हो । यस विषयमा गृहमन्त्रालयबाट स्पस्ट जवाफ पाउँ । अनुसन्धानको सिलसिला सुरुवात नै नभएको अवस्थामा वडाअध्यक्षलाई छोडनु कत्तिको न्यायोचित छ ? जवाफ पाउँ ।
सांसद विन्दा पाण्डे
यो घटना दलित विरुद्धको मात्र नभएर मानवता विरुद्धको अपराध हो । दोषीलाई हदै सम्मको कारबाही हुनुपर्छ । एउटा घटना मात्र नभएर श्रृंखलाबद्ध सबै घटनाको छानविन होस र त्यसका दोषीहरुलाई कारबाही होस भन्न चाहन्छु । अहिलेको घटनाले गर्दा फेरी त्यो बालिकामाथि अर्को घटना घटन सक्छ साईकोसोसियल काउन्सेलिको विषयमा सरकारले ध्यान देओस ।
सांसद खगराज अधिकारी
मानव सभ्यतालाई गम्भिर चुनौति दिने अपराधिक घटना भएको छ । अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु । यस्ता अपराध कुनै पनि हालतमा दोहोरिन नदिन सरकारको प्रतिवद्धता चाहन्छु । गृहमन्त्रीलाई निवेदन गर्न चाहन्छु जुनसुकै स्रोत साधन या पावर प्रयोग गरेर अपराध ढाकछोप गर्ने काम नगरियोस् । दलित समुदाय माथिको यो अत्याचार, मानव हत्यालाई कुनैपनि हालतमा छुट नदिओस भन्ने माग गर्न चाहन्छु । यो मानव सभ्यता र नेपाली समाजलाई कलंक हो । कलंकलाई सदा निमिट्यान्न पार्ने प्रतिवद्धता पनि चाहन्छु ।
सांसद प्रेम सुवाल
रुकुम घटनाले वर्ग संघर्ष अझै चालु छ भन्ने देखाउँछ । प्रजातन्त्र र प्रजातान्त्रिक पार्टीहरुलाई चुनौति दिएको छ । साँचो अर्थमा प्रजातन्त्र कायम भएको छैन भन्ने देखाउँछ । घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्नु आवश्यक छ ।
सांसद बालकृष्ण खाँड
अमानविय अपराध हो । जतिय विभेद, मानवअधिकारको हनन र मानविय जीवनको नै समाप्त गर्ने गम्भिर अपराध हो । यो अपराधलाई ढाकछोप गर्ने काम नहोस् । केटा पक्षका १८ जना युवाहरु आए र कति जनाले लखेटे त ? खोला तर्नलाई नदीमा हामफालेको हो कि आक्रमण भएको कारणले नदीमा जानुप¥यो । यो गम्भिर घटना भएकाले संसदिय छानविन समिति बनाउन जरुरी छ ।
सांसद महेश्वर जंग गहतराज
देशको कानुन र सभ्य समाजको मानविय संवेदनालाई चुनौति दिने र गिज्याउने यो घटनालाई जति निन्दा गरेपनि कम हुन्छ । यो घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दछु । यो घटनालाई अनुचित राजनीतिकरण नगर्न र माओवादी जनयुद्धसँग नजोड्न पनि म चुनौति दिन चाहन्छु । म त्यही जिल्लाको उपज हुँ । यो अपराध हो यो मानविय अपराधलाई अपराधको रुपमा लिईयोस् । जातिय विभेदका रुपमा भएको अपराधलाई त्यही अपराधको रुपमा लिइओस र त्यसका लागि सरकारले ठोस कदम चालोस् र राजनीतिकरण गर्ने काम नगरियोस् ।
सांसद
