राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बुधबार न्यूज एजेन्सी नेपालका संबाददातासँग कुरा गर्दै कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताउनुभएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुन दुईदिन बँकी छँदा प्राधिकरणका सिइओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताउनुभयो । उहाले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने बताउनुभयो । तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने उहाँले बताउनुभयो ।
यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुननिर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उहाँले बताउनुभयो । यस्तै सरकारका विभिन्न निकायले पुननिर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुननिर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उहाँले बताउनुभयो । सिइओ ज्ञवालीले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुननिर्माणको काम प्रभावित नहुने समेत बताउनुभयो ।
सिइओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताउनुभयो । उहाँले प्राधिकरणले अहिले सम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको बताउनुभयो । अहिले सम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुननिर्माणको चरणमा रहेको उहाँले बताउनुभयो । यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात ५ लाख ६१ हजार ६ सय ५० रहेको समेत उहाँले बताउनुभयो । निजी आवस पुननिर्माणका लागि ७ लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।
यस्तै भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्याय पुननिर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय २ वटाको पुननिर्माण सम्पन्न भइसकेको पनि सिइओ ज्ञवालीले बताउनुभयो । यसबाहेक १ सय ४१ सम्पदा पुननिर्माणको चरणमा छन् । काठमाडौं उपत्यका भित्र विश्व सम्पदा क्षेत्र भित्र रहेका १ सय ७० वटा सम्पदा मध्ये १ सय १ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुननिर्माणको क्रममा छन् । यसबाहेक १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने १ सय ४५ वटा पुननिर्माणको क्रममा छन् । स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् । सुरक्षा निकायका १ सय ९४ संरचनाको पुननिर्माण सम्पन्न भएको र २२ वटा पुननिर्माणको क्रममा चरणमा रहेको उहाँले बताउनुभयो ।
भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्धारा आवास पुननिर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ । यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुननिर्माण हुँदै छन् ।
विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडक पुननिर्माण सम्पन्न भइसकेको छ । यस्तै ३ सय १९ किलोमिटर सडकको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने १ सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।