काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।
‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।
यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माण पक्ष ढुक्क छ । बालेनको लोकप्रियता जस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिन अगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।