लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने कृषि मन्त्री भुसालको भनाइ

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताउनुभएको छ । एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०÷४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताउनुभयो । लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताउनुभयो । ३०÷४० वर्ष देखि विग्रदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौति रहेको समेत उहाँले बताउनुभयो ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताउनुभयो । उहाँले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बतानुभयो । उहाँले पछिल्लो ३०÷४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताउनुभयो ।
कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताउनुभयो । कोरोनाले सिकाएको पाठलाई फेरिपनि विर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उहाँले बताउनुभयो । गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्ने तर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । केही दशक खेर गइसकेकाले अव नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारी समेत उहाँले गराउनुभयो । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ज्ञारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताउनुभयो ।

Spread the love