लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको भनाइ

सिन्धुपाल्चोकको जुगल गाउपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताउनुभयो । पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उहाँले बताउनुभयो ।

नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाई छ । लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ । ठूलो जनधनको क्षती समेत गरेको छ । भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन । यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन । प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका नीजि आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरुको निर्माणमा समस्या भएको बताउनुभयो । आर्थिक वर्षको अन्तिमसम्म नीजि आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताउनुभयो । सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उहाँले बताउनुभयो । यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

Spread the love