नेपाली नागरिकहरु प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्न आग्रह
संसदीय समितिले सीमानाकामा आवतजावत गर्नेहरुको स्वास्थ्य परीक्षणमा कडाई गर्नुका साथै विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याकंन समितिले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदै नेपाली नागरिकहरु प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न निर्देशन दिएको हो । यसैगरी दैनिक उपभोग्य वस्तु, औषधि र अन्य स्वास्थ्य अपकरणहरुको समुचित प्रवन्ध गर्दै सहज प्राप्तीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । अस्पतालहरुमा थयोचित उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरादेवी जैरुले बताउनुभयो ।
समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्व तयारीको मोडल परिवर्तन गर्ने तयारी भइरहेको बताउनुभयो । चिनियाँहरुको सुझाव र सल्लाह लिएर उनीहरुकै मोडलमा पूर्व तयारीका कामहरु अगाडी बढ्ने उहाँले बताउनुभयो । स्वास्थ्य उपकरण जुनदेशले सहयोग गरेपनि लिने नीति सरकारले लिएको उल्लेख गर्दै उहाँले नेपाली चिकित्सकहरुलाई प्रशिक्षण दिन चीनको विशेष टोली बोलाउने तयारी भएको पनि बताउनुभयो । सांसद भीम रावलले कुन देशको सहयोग लिने कुन देशको नलिने भन्ने परिपाटीको अन्त्य गर्दै जहाँबाट जे पाइन्छ त्यो लिएर तत्काल वितरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
सांसद पम्फा भूसालले विद्युतिय महसुल कम गरी ग्यासको संकट कम गर्न सकिने सल्लाह दिनुभयो । सांसद गणेश गठुन्नाले २ महिनासम्म स्वास्थ्य उपकरण जोहो गर्न किन सकिएन भन्दै प्रश्न गर्नुभयो । विश्वव्यापी महामारीको रुप लिएको कारोना संक्रमणको जोखि न्यूनिकरणका लागि सरकारले पूर्व तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ । कोरोनाको संक्रमण नेपालमा आउन नदिन र भित्रिएको खण्डमा नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकाका विषयमा सरकारले पूर्वतयारीका योजनाहरु अगाडी सारेको छ ।