विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पुर्वसूचना प्रणालीलाई चुस्त बनाउदै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँडले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिनुभयो । मनसुन जन्य बिपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफुसंग भएका पुर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँडले निर्देशन दिनुभयो । विपदजन्य जोखिम बिरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकार सँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभयो । मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिनुभयो ।
यस्तै बैठकले विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ । विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्विकृती लिनुपर्ने अवस्था हटेको छ ।

Spread the love