पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका हुन् ।
पोखरा–१९ तल्लाकोट स्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले यो समयमा पूरानो शैली र ढाँचाले पठनपाठन फलदायी नहुने उल्लेख गरे ।
सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट छुट्याइरहेको सन्दर्भमा त्यसको तुलनामा सरकारी विद्यालयबाट प्रतिफल प्राप्त नभएको गुनासो आइरहँदा विन्ध्येश्वरी जस्ता विद्यालयबाट अन्य सरकारी विद्यालयहरुले पनि पाठ सिक्न जरुरी रहेको उनले बताए ।
विद्यालयहरुले विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउँदै उनले हाम्रा सामाजिक मूल्य र मान्यता, रहनसहन र मौलिकता, हाम्रा धार्मिक, सांस्कृतिक धरोहर, हाम्रो माटोको सुगन्धलाई कसरी विद्यार्थीको सिकाइसंग जोड्नेतर्फ शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने बताए ।