संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घुमाउरो तरिकाले खण्डन गर्नुभएको छ ।
भानु जयन्तीका अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिको पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले खण्डन गर्नुभएको हो । मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भएपनि अहिलेको समयमा यस्ता कुरा गर्दा चनाखो हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्नुभयो । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र जातिय द्वेसहरु फैलाउने बताउनुभयो । सबैको आ—आफ्नै संवेदनशीलता हुने उल्लेख गर्दै उहाँले यस्ता कुरामा विचार राख्दा चनाखो हुनुपर्ने बताउनुभयो ।
मन्त्री भट्टराईले सांस्कृतिक तथा पुरातात्विक विषयमा अध्ययन, अनुसन्धान र अभिलेख नेपालसँग नभएको समेत बताउनुभएको छ । उहाँले पशुपति, लुम्बिनी लगायतका धार्मिक क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको समेत बताउनुभयो । यद्यपी मन्त्रिपरिषद्बाट पारित हुन बाकी रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशका मुख्य चाँडपर्वहरु संरक्षणको अभियान सुरु गरिएको उहाँले बताउनुयो । सात वटै प्रदेशमा प्रति प्रदेश एक गाउ पर्यटकीय गाउँको रुपमा विकास गर्ने गरी काम अगाडी बढाइएको पनि उहाले बताउनुभयो ।