कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिनुभएको हो । उहाँले खाद्यान्न, नुन, चिनी डिजेल पेट्रोल लगायतका वस्तुहरु पर्याप्त मात्रामा रहेको बताउनुभयो । मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिइएको बताउनुभयो । डिजेल, पेट्रोल र ग्यासको संञ्चित गरेर दुर्घटना ननिम्त्याउन पनि उहाँले आग्रह गर्नुभयो । सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भएपनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उहाँले बताउनुभयो । अहिले सरकारसँग ३० लाख सम्म सिलिण्डर भर्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । कलोबजारी गर्नेहरुलाई जरिवाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताउनुभयो । उहाँले माघमा ४० जना, फागुनमा १०१ जना र चैत ६ गते सम्म ५६ जनालाई कारवाही गरिएको बताउनुभयो ।
प्रधानमन्त्री मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण विडारीले कैदीबन्दीलाई छोड्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभयो । संक्रमण फैलिएमा जेलभित्रै आइसोलेसनमा राख्ने की छुट्टै राख्ने भन्ने विषयमा गृहमन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको उल्लेख गर्दै उहाँले तत्काललाई बन्दी छोड्ने निर्णय नभएको बताउनुभयो ।
कोरोना भाइरसको सामना गर्ने हैसियतमा सरकार रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारहरुसँग समन्वय गरेर सरकार अगाडी बढिरहेको बताउनुभयो ।