काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली व्यवसाय क्षेत्रका समस्याको समाधान सरकारी नीतिगत सुधार र व्यवसायीको सक्रिय सहकार्यबाट मात्र सम्भव हुने बताएका छन् ।
व्यवसायीक क्षेत्रका समसामयिक विषयमा आयोजित संवाद तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हाल देखिएका समस्याहरु राज्य र निजी क्षेत्र दुवैको भूमिकाका कारण आएको उल्लेख गर्दै त्यसको समाधान पनि संयुक्त प्रयासबाटै खोजिनुपर्ने बताएका हुन् ।
उनले नेपाली बजारमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणालीको आवश्यकता औंल्याउँदै गुणस्तर र उपभोक्ता हितका लागि यसको कार्यान्वयन अपरिहार्य भएको धारणा राखे ।
साथै व्यवसाय र नाफाको सन्दर्भमा मन्त्री भण्डारीले राज्य र निजी क्षेत्र बीचको सम्बन्धलाई स्पष्टगर्दै व्यवसायबाट मुनाफा हुँदैन भने राज्यले के पाउने भन्दै प्रश्न गरे । उनले व्यवसायले फाइदा कमाएपछि मात्र राज्यले आश गर्न सकिने बताए ।
मन्त्री भण्डारीले देशको समृद्धि र व्यवसायिक समृद्धि एकअर्कासँग गाँसिएको भन्दै सरकार र निजी क्षेत्रबीच आपसी अविश्वास हटाउनुपर्नेमा जोड दिए।
उनले कानुनी र नीतिगत सुधारका लागि व्यवसायीहरुको सुझाव र योगदान आवश्यक रहेको बताउँदै सरकार त्यसका लागि खुला रहेको बताए।
