‘सरस्वती पूजा जीवनलाई उर्जाशील बनाइ राख्ने पर्व हो’: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पूजा जीवनलाई उर्जाशील बनाइ राख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।
सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण गर्ने बताए ।
जारी सन्देश, ‘वसन्तश्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व पनिहो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्दै सबै नेपालीहरूमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनीपुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।’
यस्तै, सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुजिने भन्दै नवीन कार्यको प्रारम्भ, विवाह, व्रतबन्ध आदि जस्ता शुभकार्यका लागि पनि आजको दिन शुभ रहेको बताए ।
सन्देशमा भनिएको छ, ‘सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिनपनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्धआदि जस्ता शुभकार्यका लागि यस दिनलाई रोजीविवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।’
साथै,उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने पनि बताए ।

Spread the love